Ministry of Foreign Affairs of Nepal

11/06/2025 | Press release | Distributed by Public on 11/07/2025 10:07

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडैलज्यूले दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा गर्नुभएको सम्बोधन

कतारका मौसुफ,

महामहिम राष्ट्र तथा सरकार प्रमुखज्यूहरू,
संयुक्त राष्ट्र संघका महासचिव,
विशिष्ट प्रतिनिधिहरू,

यस महत्वपूर्ण शिखर सम्मेलनलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित भएको छु।

यो ऐतिहासिक सम्मेलन आयोजना गर्नुभएको र सौहार्दपूर्ण आतिथ्य उपलब्ध गराउनुभएकोमा म कतार सरकार र जनताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

महामहिमहरू,

तीस वर्षअघि जारी गरिएको कोपेनहेगन घोषणापत्र न्यायपूर्ण, समावेशी र समतामूलक विश्वतर्फको हाम्रो सामूहिक यात्राको ऐतिहासिक क्षण थियो।

उक्त घोषणापत्रमार्फत हामीले सामाजिक विकासका सिद्धान्तहरूलाई विश्व एजेन्डामा समावेश गर्‍यौं जनताका अधिकार, मर्यादा र कल्याणलाई हाम्रो सर्वाङ्गीण विकास प्रयासको केन्द्रमा राख्ने प्रतिबद्धता जनायौं।

त्यस बेलादेखि अहिलेसम्म हामीले उल्लेखनीय प्रगति गरेका छौं।

गरिबी घटेको छ।

शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार भएको छ।

सामाजिक सुरक्षा सुदृढ भएको छ।

महिलाको सहभागिता र नेतृत्व बढेको छ।

सरदर आयु बढेको छ।

मातृ तथा बाल मृत्युदर घटेको छ।

तर हामीले प्राप्त गरेका यी उपलब्धिहरू पर्याप्त छैनन्।

न्यायपूर्ण, समानतामा आधारित र समावेशी समाज निर्माण गर्ने हाम्रो आकांक्षा पूरा हुन बाँकी नै छ।

यस सन्दर्भमा थप न्यायपूर्ण, समावेशी, समतापूर्ण र दिगो विश्व निर्माण गर्ने साझा प्रतिज्ञाका रूपमा दोहा घोषणापत्र आएको छ।

समानता, मर्यादा र अवसरमा आधारित साझा भविष्यका लागि यी प्रतिज्ञाहरूलाई मूर्त रूप दिन दोहा घोषणापत्रले सबै मुलुकहरूलाई आह्वान गरेको छ।

महामहिमहरू,

समावेशिता, न्याय र सामाजिक सुरक्षालाई नेपालले सामाजिक विकासका आधार स्तम्भका रूपमा लिएको छ।

नेपालको संविधानले कोपेनहेगन घोषणापत्रका प्रमुख सिद्धान्तहरूलाई आत्मसात् गरेको छ।

हामीले हरेक नागरिकले समान अधिकार, समान अवसर र सम्मानका साथ जीवनयापन गर्न पाउने समाजको परिकल्पना गरेका छौं।

हाम्रो विकास प्रयासको केन्द्रबिन्दुमा समावेशी शासन र सीमान्तकृत समुदायहरू जस्तै-महिला, युवा, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिलगायतको सशक्तीकरण गर्नु रहेको छ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो।

राजनीतिक संकल्प र सामूहिक प्रयासका कारण नेपालले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ।

सन् १९९५ देखि गरिबी आधा घटेको छ।

दिगो विकासका लक्ष्यहरूको प्रगति विश्वको औसतभन्दा बढी छ।

९५ प्रतिशतभन्दा बढी नेपालीले स्वच्छ ऊर्जा प्रयोग गर्छन्।

शिक्षालगायत सबैक्षेत्रमा लैङ्गिक समानता बढेको छ।

मातृ तथा बाल मृत्युदरमा उल्लेखनीय कमी आएको छ।

नेपालमा हाल संचालित करिब नब्बे सामाजिक सुरक्षा कार्यक्रमहरूले हाम्रा वृद्धवृद्धा, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउँदै आएका छन्।

हाम्रो संविधानलेमहिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समूहहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ।

महामहिमहरू,

विश्वका कतिपय मुलुकमा सुशासनका पक्षमा युवा पुस्ताले ल्याएको उभारजस्तै हाम्रो मुलुकमा पनि गत भदौ २३ र २४ मा जेनजीको नाममा प्रदर्शन भयो जसले देशमा उथलपुथल ल्यायोतर हामीले संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै मुलुकलाई सुरक्षित अवतरण गरेर फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेका छौँ ।

यो निर्वाचनले नेपाललाई राजनीतिक निकास दिँदै सुशासन,विकास र समृद्धिको बाटोमा अगाडि बढाउने हामीलाई विश्वास छ।

महामहिमहरू,

आज हामी इतिहासको महत्त्वपूर्ण मोडमा छौँ।

हाम्रा जनताका अपेक्षाहरू पूरा गर्नका लागि विश्वव्यापी स्तरमा ठोस र समन्वयात्मक कार्य गर्ने यो महत्वपूर्ण समय हो।

आममानिसमातीव्र गति र स्तरमा सूचनाको पहुँच पुगेसँगै अति कम विकसित र विकासोन्मुख मुलुकका जनताको पनि अपेक्षा चुलिएको छ

उनीहरू तत्कालै गुणस्तरीय जीवन,शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारी चाहन्छन्।

तर सीमित स्रोतसाधन र संस्थाहरूको क्षमताको सीमितताका कारण यथार्थ अवस्था फरक छ।

न्यायपूर्ण, समावेशी र समतामूलक विश्व र सामाजिक विकासका सिद्धान्तको कुरा गर्दा म जलवायु परिवर्तन र यसले नेपाली जनजीवनमा पारेको प्रतिकूल असरका बारेमा केही बोल्नु सान्दर्भिक ठान्दछु।

कार्बन उज्सर्जनमा नगन्य योगदान गरे पनि हाम्रो देशले जलवायु परिवर्तनका प्रतिकूल असरहरूको मार खेपिरहेको छ।

जलवायु परिवर्तनको असमानुपातिक प्रभावले पनि नेपालको सामाजिक-आर्थिक विकासको यात्रामा समस्या सिर्जना गरेको छ।

यस सन्दर्भमा मुलुकहरूको विकास प्रयासलाई अघि बढाउन विश्वव्यापी ऐक्यबद्धता, समर्थन र सहयोगको महत्वपूर्ण भूमिका रहन्छ।

हाम्रा लागि यो शिखर सम्मेलन तब अर्थपूर्ण हुनेछ जब अन्तर्राष्ट्रिय समुदायले विकासोन्मुख देश, खास गरी अति कम विकसित मुलुकहरूको विकास प्रयासलाई सघाउन ठोस कदम चाल्नेछ।

दोहा घोषणापत्रले हाम्रा भविष्यका कदमहरूलाई मार्गदर्शन गर्ने विश्वास लिएको छु।

यसका लागि यो शिखर सम्मेलनपश्चात् ठोस र समन्वयात्मक कदमहरू चाल्न आवश्यक छ।

साथै प्राथमिकताहरू पुन:समीक्षा गरी तदनुरूप स्रोत परिचालन गर्नुपर्छ।

विशेष गरी विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान र सीप पनि आवश्यक छ।

हामीलाई एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नत स्तरको समर्थन आवश्यक छ।

न्यायपूर्ण विश्व व्यापार प्रणाली, विकास सहायताका प्रतिबद्धताहरूको कार्यान्वयन, जलवायु वित्त, प्रविधि हस्तान्तरण र लगानीको पनि आवश्यकता छ।

अन्त्यमा, महामहिमहरू,

इतिहासले हामीलाई सिकाएको छ- समावेशिता र साझा समृद्धि दिगो शान्ति, उन्नति र मानवीय मर्यादाको आधारशिलाहो।

आज हामीले जे गर्छौं त्यसैले भविष्य निर्माण गर्ने हो।

तसर्थ हामी त्यस्तो भविष्यको डिजाइन गरौं जसले सबैका लागि सामाजिक-आर्थिक विकास सुनिश्चित गरोस्।

धन्यवाद।

Ministry of Foreign Affairs of Nepal published this content on November 06, 2025, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on November 07, 2025 at 16:07 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at [email protected]