Ministry of Foreign Affairs of Nepal

01/08/2026 | Press release | Archived content

प्राइम टेलिभिजन (Prime Television) मा प्रसारित सामग्रीको खण्डन

नेपालको प्राइम टेलिभिजनमा मिति ३१ डिसेम्बर २०२५ र ०४ जनवरी २०२६ मा प्रसारित "प्रहरी रिपोर्टको नाममा लूट: भिषा अघि नै ठगी, राजदूत र सचिवको सेटिङ?" "२५५ करोडको लुटधन्दा, युएई जानेको रगत चुस्दै"शीर्षकका सामग्रीप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त सामग्री भ्रामक, कपोल्कल्पित र आधारहीन रहेको र नेपाल र संयुक्त अरब ईमिरेट्स (युएई) बीचको द्विपक्षीय सम्बन्धलाई समेत असर पु-याउने किसिमको पाइएको हुँदा मन्त्रालय कडा शब्दमा यसको खण्डन गर्दछ।

काठमाडौंस्थित युएईको राजदूतावासले भिषा आवेदनको प्रक्रियामा नेपाल प्रहरीद्वारा जारी गरिने चालचलन प्रमाणपत्र (Police Report) निजी क्षेत्रको सेवा प्रदायक कम्पनी VFS Global मार्फत संकलन, प्रमाणीकरण र वितरण गर्ने गरेको र सो सेवावापत लाग्ने दस्तुर निर्धारणको विषय सम्बन्धित विदेशी मुलुक युएईको क्षेत्राधिकार भित्र पर्ने हुँदा सोमा नेपाल सरकारका निकायहरूको कुनै पनि प्रकारको संलग्नता नरहने व्यहोरा स्पष्ट पारिएको छ।

मित्रराष्ट्रहरूसँगको द्विपक्षीय सम्बन्ध थप सुदृढ, सुमधुर, प्रगाढ एवम् पारस्परिक हितमा आधारित बनाउने तर्फ परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगहरूका साथसाथै राज्यको चौथो अंग लगायत सबैको उत्तिकै जिम्मेवारी रहन्छ। नेपालमा भएको Gen-Z आन्दोलन पश्चात युएईले अन्तरिम अवधिको लागि नेपाली राहदानीवाहकलाई भिसा जारी गर्ने कार्यमा कडाइ गरेको अवस्थामा सम्बन्धित सरोकारवाला व्यक्ति, संस्था तथा निकायहरु समेतको अनुरोधबमोजिम उक्त चालचलन प्रमाणपत्र अनिवार्य गरेर भएपनि भिसा जारी गर्ने कार्यलाई सुचारु गरिदिन यस मन्त्रालयबाट गरिएको अनुरोधबमोजिम मित्रराष्ट्र युएईले हालको व्यवस्था लागू गरेको हो।

यस प्रकारको कूटनीतिक पहल र सुस्पष्ट विषयलाई समेत तोडमोड गरी राज्यका जिम्मेवार निकाय तथा उच्च पदस्थ अधिकारीहरूलाई आधारहीन लान्छना लगाउनु अत्यन्त निन्दनीय कार्य हो। यस दुरासयपूर्ण कार्यले वैदेशिक रोजगारीका अवसरहरू गुम्न सक्ने र अन्ततः मुलुकको द्विपक्षीय सम्बन्धमा नकारात्मक असर पार्ने भएकोले सम्बन्धित प्रसारण संस्था र व्यक्ति दुबै जिम्मेवार एवम् उत्तरदायी भई उक्त भ्रामक सामग्री यथाशीघ्र हटाउन र सोको खण्डन समेत गर्न मन्त्रालय अनुरोध गर्दछ।

साथै, अन्तर्राष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा मिडिया सामग्री निर्माण, प्रकाशन तथा प्रसारण गर्दा पत्रकार आचार संहिता र व्यवसायिक मर्म अनुरूप सत्यतथ्यमा आधारित हुन र परराष्ट्र मन्त्रालय र सम्बन्धित सबैको धारणा समेट्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ। वैदेशिक रोजगारीलाई थप सहज, सुरक्षित र मर्यादित बनाउने दिशामा सम्बन्धित सबै निकायहरूसँग आवश्यक समन्वय र सहजीकरणका लागि मन्त्रालय सदैव तत्पर रहेको व्यहोरा पनि अनुरोध छ।

_____

परराष्ट्र मन्त्रालय्
सिंहदरबार, काठमाडौं
मितिः २०८२ पुस २४ (८ जनवरी २०२६)

Ministry of Foreign Affairs of Nepal published this content on January 08, 2026, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on January 12, 2026 at 08:50 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at [email protected]