01/09/2026 | Press release | Distributed by Public on 01/09/2026 09:18
श्री परराष्ट्र सचिवज्यू,
महामहिम राजदूतज्यूहरु, स्थायी प्रतिनिधिज्यूहरु तथा नियोग प्रमुखहरु,
मन्त्रालयका सम्पूर्ण कर्मचारी मित्रहरु,
नमस्कार ।
यहाँहरु सबैमा अंग्रेजी नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना।
विदेशस्थित नेपाली नियोगप्रमुखहरुसँग आज भर्चुअल माध्यमबाट जोडिएको मा मलाई ज्यादै खुशी लागेको छ।
गत भाद्र २३ र २४ को जेन-जी आन्दोलन पछि मुलुक कठिन संक्रमणकालीन परिस्थितिमा रहेको सबैलाई अनुभूति भएकै विषय हो।
यस विशिष्ट परिस्थितिमा मलाई नेपाल सरकारको परराष्ट्र मन्त्रीको जिम्मेवारी दिइएकोमा मैले यसलाई चुनौतिका साथै अवसरको रुपमा पनि लिएको छु।
यस अघि पनि असोज २२ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट नेपाल सरकारका प्राथमिकताका वारेमा यहाँहरुलाई आवश्यक निर्देशन भइसकेकोले यस वारेमा अवगत नै हुनुहुन्छ।
अन्तर्राष्ट्रिय राजनीति अहिले अत्यन्तै संवेदनशील तथा तरल अवस्थाबाट गुज्रिरहेको देखिन्छ। अस्थिरता, भू-राजनीतिक एवं सामरिक प्रतिस्पर्धा बढदै गईरहेको छ। यसले अन्तर्राष्ट्रिय राजनीति तथा कुटनीतिलाई थप जटिल तथा चुनौतिपूर्ण बनाउँदै लगेको छ। हामी अवसर र चुनौतीहरूको सम्मुखमा खडा भएका छौं। विकासशील तथा अतिकम विकसित मुलुकहरु जलवायु परिवर्तन, तीब्र प्रविधि विकासबाट सिर्जित समस्याहरु तथा साइवर अपराध जस्ता गैर-परम्परागत सुरक्षाका चुनौतीहरूको भार बोक्न बाध्य भईरहेका छन्। विश्व मामिलामा भएका प्रचलित तथा विकसित प्रवृतिहरु (Existing and evolving trends) ले मुलुकहरुबीचको सम्बन्धको आधारलाई पुनःपरिभाषित गरिरहेको परिवेशमा नियोगहरुले पनि आफ्नो भूमिका तथा कार्य पद्यतिलाई पुनरावलोकन गर्दै समयसापेक्ष तथा प्रविधियुक्त बनाउनु आवश्यक छ । यस दिशा तर्फ तपाँईहरुले अझ बढि प्रयास गर्नु पर्ने देखिन्छ।
आउँदो मार्च ५, २०२६ (२०८२ फागुन २१) मा आम निर्वाचन सम्पन्न गर्नु यो सरकारको मुख्य जिम्मेवारी रहेको यहाँहरुलाई विदितै छ। हाम्रो प्रमुख प्राथमिकता निर्वाचन भएपनि यस अवधिमा नेपालको परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयन गरी मुलुकको सार्वभौमसत्ता, स्वाधीनता तथा स्वतन्त्रतालाई सर्वोपरी राखी समग्र राष्ट्रिय हितको रक्षा एवं प्रबर्द्धन गर्नु अपरिहार्य रहन्छ। परराष्ट्र नीतिको कार्यान्वयनका क्रममा भू-राजनीतिक संवेदनशीलता तथा सामरिक अवस्थालाई गहन तथा सुक्ष्म रुपले बुझ्नु जरुरी छ।
सार्वभौमिक समानता, पारस्पारिक लाभ तथा आपसी सम्मान र सदभावको आधारमा नेपालको छिमेकी मुलुकहरु सहित विकास साझेदार तथा मित्रराष्ट्रहरुसँगको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ गर्दै लैजानु पर्दछ। संयुक्त राष्ट्रसंघ सहित बहुपक्षीय संघ संगठनहरुमा नेपालको सार्थक सहभागिता, प्रभावकारिता एवं आपसी योगदानमा केन्द्रित हुनु पर्दछ।
सार्क, बिमस्टेक सहितको क्षेत्रीय संगठनहरुसँगको सघन अन्तरक्रिया एवं संलग्नता मा जोड दिनु अत्यन्त आवश्यक छ।
साथै, नेपाललाई अतिकम विकसित राष्ट्रबाट आगामी बर्ष स्तरोन्नति गर्ने तथा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने जस्ता सामाजिक र आर्थिक विकासमा परराष्ट्र नीतिले महत्वपूर्ण योगदान पुर्याउनु पर्दछ।
यही प्रतिवद्धताका साथ यहाँहरू सबैले आफ्नो कार्य सम्पादन गर्नुहुनेछ। आफ्नो कर्तव्य र इमानमा सम्झौता गर्ने कुनै पनि प्रकारको व्यवहारलाई सहन गरिने छैन।
आगामी मार्च ५ (फागुन २१) को प्रतिनिधि सभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी राष्ट्रहरू भारत र चीन सहित सबै मित्रराष्ट्रहरू, विकास साझेदारहरू लगायत सबैको सद्भाव र समर्थनका लागि तत् तत् मुलुकहरुसँग निकट रुपले यहाँको वस्तुस्थितिको वारेमा जानकारी गराउनु पर्दछ।
अहिलेको राजनीतिक संक्रमणकालीन अवस्थालाई आत्मसात गर्दै परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नियोगहरुले आफ्नो भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ। यस परिप्रेक्ष्यमा म केही विषयहरुमाथि जोड दिन चाहन्छु।
१. सबैभन्दा पहिले, तपाँईहरुले नेपाल तथा नेपाल सरकारको सबल एवं सक्षम ढंगले प्रतिनिधित्व गर्दै नेपालको राष्ट्रिय हित तथा प्राथमिकताको वारेमा स्पष्टरुपमा सम्प्रेषण गर्नु पर्दछ। मुलुकको राष्ट्रिय हितमा खलल पुग्ने कुनै पनि गतिविधि वा क्रियाकलाप कुटनीतिमा सह्य हुँदैन।
२. सिमित स्रोत साधनको उच्चतम सदुपयोग गर्दै तहाँ नियोगहरुबाट प्रदान गरिदैं आएको सेवा प्रवाहलाई छिटो, छरितो एवं थप प्रभावकारी बनाउन जोड दिनु पर्नेछ। विदेशमा रहेका नेपाली नागरिकहरुको हक, हित र सुरक्षाको लागि नियोग सधै तत्पर रहनु पर्ने कुरालाई आत्मबोध गर्दै सेवा प्रवाह गर्नु हुनेछ।
३. नेपाली कामदारहरुको हक, हित र सुरक्षाको लागि मन्त्रालय तथा सम्बद्ध निकायहरुसँग समन्वय गर्दै यथाशीघ्र सेवा उपलब्ध गराउने तर्फ यथोचित ध्यान पुर्याउनु पर्ने देखिन्छ। कन्सुलर सेवा भरपर्दो, विश्वसनीय तथा अनुमानयोग्य बनाउनु पर्दछ। कन्सुलर सेवा प्रवाहका लागि मन्त्रालयले अपनाएका प्रकृया एवं प्रविधिलाई सबै नियोगहरुले अनिवार्य रुपले कार्यान्वयन गर्नु पर्दछ।
कामका सिलसिलामा नेपालीहरु विदेश जाने क्रम बढेसँगै त्यहाँ रहेका नेपालीहरूलाई नियोगले प्रदान गर्ने सेवामा पनि चाप बढनु स्वभाविक हो। उनीहरूलाई आवश्यक सेवा प्रवाह प्रभावकारी बनाउनु र उनीहरूको सम्मान, मर्यादा र हकहितको सुरक्षा गर्नु अत्यावश्यक छ। समस्या समाधानका लागि निरोधात्मक उपायहरु पनि अवलम्बन गर्न जरुरी छ। जेल/थुनामा रहेका नेपालीहरुलाई यथाशीघ्र एवं परिणाममुखी कानूनी उपचारको लागि आवश्यक व्यवस्था गर्न, र क्षतिपूर्तिका लागि सम्बन्धित निकायहरुसँग समन्वय गर्नु पर्नेछ। नेपाली नागरिकहरुको हक, हित र सुरक्षा हाम्रो महत्वपूर्ण जिम्मेवारी हो। हामीले आफ्नो जिम्मेवारी तथा उत्तरदायित्वलाई क्रियशील भई निर्वाह गर्नु पर्दछ।
विदेशमा अन्य सेवाका अतिरिक्त उद्धार, शव झिकाउने, क्षतिपूर्ति लगायतका कन्सुलर सेवाहरू स्थानीयस्तरमै सबैले घरबाटै सहजै प्रयोग गर्न सकिने गरी अनलाईन प्रणालीको विकास गरिएको परिप्रेक्षमा यसको उपयोग गरेमा सबैलाई समयमै अद्यावधिक गराउन सहज हुन्छ।
४. सुदृढ आर्थिक कुटनीतिको संचालन नियोगको आधारभूत जिम्मेवारीको रुपमा स्थापित भएको छ। आर्थिक कुटनितिको परम्परागत ढाँचा वा तौर तरिकाबाट माथि उठनु पर्ने देखिन्छ। लक्ष्य सहित परिणाममुखी र नवप्रवर्तन र प्रविधि मैत्री आर्थिक कुटनीति आजको आवश्यकता हो।यसका लागि औपचारिक वार्ता, माध्यम वा निकायमा मात्र केन्द्रित नभई सार्वजनिक-निजी साझेदारी, डिजिटल प्लेटफार्म, तथा व्यवसायिक तथा नागरिक समाजहरुसँगको अन्तरक्रिया बढाउने तर्फ विचार पुर्याउनु पर्दछ।
जेन-जी आन्दोलन पश्चात नेपालको पर्यटन क्षेत्रमा देखिएको शिथिलता क्रमशः हटने क्रम जारी छ। यसले नेपालमा पर्यटकीय अवस्था सामान्य भइसकेको र पर्यटन, व्यापार, लगानी लगायतका आर्थिक गतिविधिहरू पूर्ववत रूपमा सञ्चालनमा आइसकेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन अत्यावश्यक भएको छ।
५. आर्थिक कुटनीति अन्तरगत नियोग अवस्थित मुलुक तथा सहप्रमाणिकृत मुलुकहरुमा भएका वित्तीय संस्थाहरु तथा विकासका सहयोगी निकायहरु (Development Cooperation Agency) सँग नेपालको लागि विकास तथा प्राविधिक सहायताका संभावनाहरुको खोजी गर्नु पर्दछ। साथै, तत् तत् मुलुकमा रहेका Philanthropic Organization सँग पनि सहयोगको संभावनाको पहिचान गर्नु पर्दछ।
६. नेपालको राष्ट्रिय कला, संस्कृति तथा मूल्य मान्यताको प्रब्रद्धन गरी मुलुकको सौम्य शक्ति मार्फत आपसी सदभाव बढाउनु अत्यन्त महत्वपूर्ण छ। सौम्य शक्ति (Soft Power) का आधारस्तम्भहरूको पहिचान र प्रवर्द्धनका माध्यमबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा र छवि अभिवृद्धि गर्ने तर्फ आगामी दिनमा मन्त्रालयले प्रयत्न गर्ने छ।
७. डायोस्पोरा कुटनीति मार्फत मुलुकको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुको ज्ञान, सिप र पूँजीको उल्लेख्य संभावनालाई साकार पार्न एवं गैरआवासीय नेपालीहरुको ज्ञान, सिप र पूँजीको उच्चतम प्रयोग गर्न पनि गैरआवासीय नेपाली समुदायहरुसँग नियमित अन्तरक्रिया तथा नेपाल सरकारका सम्बन्धित निकायहरुसँग सहजीकरणमा जोड दिनु पर्नेछ। गैरआवासीय नेपालीसँग सम्बन्धित विषयहरूको कानूनी, नीतिगत र कार्यकुशलताका माध्यमबाट उचित सम्बोधन हुनु पनि जरुरी देखेको छु।
८. सदाझैं तहाँ नियोगबाट गरिने कार्यसम्पादन एवं नियोग अवस्थित र सहप्रमाणिकृत मुलुकहरुमा विकसित घटनाक्रमलाई विकसित प्रविधिको सदुपयोग गर्दै यथाशीघ्र मन्त्रालय/विभागलाई प्रतिवेदन तथा अद्यावधिक गराउनु होला भन्नेमा विश्वस्त छु।
९. आगामी मार्च देखि विभागले विकास गरिरहेको नयाँ प्रणालीमार्फत राहदानी प्रणाली रुपान्तरण हुने प्रक्रिया अघि बढ्दैछ। यस परिवर्तनीय अवस्थामा दुई प्रणालीबीच हुने हस्तान्तरणको क्रममा नेपाली नागरिकले राहदानीसम्बन्धी सेवा समयमै प्राप्त गर्न सक्ने वातावरण सुनिश्चित गर्न र व्यवस्थित हस्तान्तरणका लागि राहदानी विभाग र नियोगहरूबीच नियमित सूचना आदान-प्रदान तथा प्रभावकारी समन्वय कायम हुनु आवश्यक छ।
यी सबै कार्यहरु प्रभावकारी र परिणाममुखी बनाउन परराष्ट्र मन्त्रालय र अन्तर्गतका विभागहरू र नियोगहरूको लागि आवश्यक स्रोत साधन र क्षमता अभिबृद्धिका लागि मेरो प्रयास रहनेछ।
सिमित स्रोत र साधनका बावजुद यहाँहरु तथा नियोगका कर्मचारीहरुले गर्नु भएको प्रयास र परिश्रमका लागि म धन्यवाद दिन चाहन्छु र यसको निरन्तरताको अपेक्षा पनि राखेको छु।
अन्त्यमा, यस ऐतिहासिक घडीमा आ-आफ्नो भूमिका र जिम्मेवारीलाई प्रभावकारी रूपमा बहन गरेर मुलुकको अग्रगामी दिशामा हामी सबैले आ-आफ्नो तह र स्थानबाट अधिकतम योगदान पुर्याउनु पर्दछ। आम निर्वाचनका माध्यमबाट जेन - जी पुस्ताको चाहना भनेको पनि सुशासन र प्रभावकारी सेवा प्रवाहको माध्यमबाट आर्थिक समृद्धि नै हो। परिवर्तनको यो तीब्र जनइच्छालाई आत्मसाथ गर्दै यस ऐतिहासिक जिम्मेवारीमा हामी सफल हुनुको बिकल्प छैन। यस दिशामा नियोगहरूको महत्वपूर्ण भूमिका छ।
साथै, देश र जनताको सेवालाई केन्द्रमा राखी थप जिम्मेवारी बोध र सेवाभावले नियोगको कार्यलाई अझ प्रभावकारी एवं उत्तरदायी बनाउनु हुनेछ भन्ने अपेक्षा राखेको छु र यस कार्यमा परराष्ट्र मन्त्रीको हैसियतले यहाँहरूलाई मेरो पूर्ण सहयोग रहने छ।
धन्यवाद ।