Ministry of Foreign Affairs of Nepal

10/13/2025 | Press release | Distributed by Public on 10/13/2025 06:30

इजरायल-हमास बन्दी आदान-प्रदान र नेपाली नागरिक विपिन जोशीको अवस्था सम्बन्धी प्रेस विज्ञप्ति

इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि शुरु भएको द्वन्द अन्त्य गर्नको लागि प्रस्तावित 'Middle East Peace Plan' को प्रथम चरण अन्तर्गत आज बन्दी आदान-प्रदान भइरहेको जानकारी प्राप्त भएको छ । उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको Learn and Earn कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशी पनि हमासले रिहा गर्ने बन्दीहरुको सूचीमा रहने अपेक्षा गरिएको थियो । यस सन्दर्भमा निजको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत २ बर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरु गरेको व्यहोरा विदितै छ ।

आज विहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेना (IDF) ले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ ।

हमासको कब्जामा रहेका सबै जिवित बन्दीहरुको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पुरा नभएसम्म मन्त्रालयले यस बिषयमा निरन्तर रुपमा जानकारी अद्यावधिक गर्ने व्यहोरा अनुरोध छ ।

परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
२०८२ आश्विन २७

Ministry of Foreign Affairs of Nepal published this content on October 13, 2025, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on October 13, 2025 at 12:30 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at [email protected]