Ministry of Foreign Affairs of Nepal

03/06/2026 | Press release | Distributed by Public on 03/06/2026 10:07

Press Release: Daily Updates on the Situation in West Asia

पश्चिम एसिया क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमप्रति नेपाल सरकार पूर्ण रूपमा सचेत रही त्यस क्षेत्रमा रहेका करिब २० लाख नेपालीहरूको सुरक्षा तथा हित र कल्याण सुनिश्चित गर्न निरन्तर क्रियाशील रहेको छ। उक्त क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूले सम्बन्धित मुलुकका सरकारी निकायहरू तथा नेपाली समुदायसँग निकटतम सम्पर्कमा रही नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी संकलन गरी समस्यामा परेका नेपाली नागरिकहरूको उद्धार, सहायता तथा सहजीकरणको प्रयास जारी राखेका छन् । उक्त क्षेत्रका नेपाली नियोगहरू पूर्ववत रूपमा खुला रहेका छन् र सेवा प्रवाह निरन्तर रहेको छ ।


१. यसै सन्दर्भमा नेपालको उच्च राजनीतिक तहबाट पश्चिम एसिया क्षेत्रका समकक्षीहरूसँग टेलिफोन संवाद गरी वर्तमान विषम परिस्थितिमा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता जनाउने र नेपालीहरूको सुरक्षाको प्रत्याभूतिका लागि प्रयास गर्ने सिलसिला निरन्तर रहनेछ ।


२. उक्त क्षेत्रमा रहेका नियोगहरूबाट दैनिक अद्यावधिक विवरण लिने कार्य मन्त्रालयले जारी राखेको छ । उक्त क्षेत्रका मुलुकहरूले नागरिकहरूलाई सकेसम्म घरभित्र सुरक्षित रहन, अनावश्यक आवतजावत नगर्न, अफवाहका पछि नलाग्न तथा जोखिमपूर्ण स्थानहरूमा यात्रा नगर्न आग्रह गरेका छन्। साथै, सामाजिक सञ्जालका लागि जोखिमपूर्ण अवस्थाहरूमा सामग्री (content) तयार नगर्न समेत सचेत गराइएको छ। सोही अनुरूप सम्बन्धित नेपाली नियोगहरूले पनि त्यहाँ रहेका नेपाली नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन र सम्बन्धित मुलुकका निर्देशनहरूको पालना गर्न अनुरोध गर्दै सूचना जारी गरेका छन्। कतिपय नियोगहरूले नियोग, गैर आवासीय नेपाली संघ, नेपाली समुदायका प्रतिनिधिहरूसँग सम्पर्क बढाएका छन्।


३. उक्त क्षेत्रमा हवाई सेवा सञ्चालनमा आए/नआएको सम्बन्धमा त्यहाँस्थित नियोगहरूले अद्यावधिक सूचना प्रवाह गरिरहेका छन् । कतारको आकास उडानका लागि बन्द रहेको छ। यसले गर्दा Transit मा धेरैजना यात्रुहरू रहे तापनि कतार सरकार र सम्बन्धित हवाई सेवा कम्पनीले खाने बस्ने व्यवस्था गरेका छन। कुवेतमा ट्रान्जिटमा रहेका नेपाली नागरिकहरूमध्ये सम्बन्धित एअरलाइन्सले आजबाट होटल सुविधा उपलब्ध नगराएका करिब ५० जनाका लागि कुवेतस्थित नेपाली राजदूतावासबाट नेपाली समुदायसँग समन्वय गरी खाने तथा बस्ने व्यवस्था मिलाउने कार्य अगाडि बढाइएको छ। कुवेत र इराकको आकास उडानका लागि बन्द रहेको छ भने साउदी अरब वा ओमानमा चार्डर उडानका लागि आकास खुला भएकाले इच्छुक यात्रुहरूले त्यहाँबाट यात्रा गर्न सक्ने अवस्था रहेको छ।


४. अबुधावीमा भएको आक्रमणमा परी १ मार्च २०२६ मा दुःखद निधन भएका नेपाली नागरिक दिवस श्रेष्ठको पार्थिव शरीर स्वदेश फिर्ता ल्याउने सम्बन्धमा अबुधावीस्थित नेपाली राजदूतावासबाट आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ। उहाँको पार्थिव शरीर भोलि एअर अरेवियाको उडानमार्फत नेपाल ल्याइने व्यवस्था मिलाइएको छ।


५. परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको Emergency Control Room सञ्चालनमा आएसँगै विभिन्न माध्यमबाट सम्पर्क गर्ने तथा विवरण टिपाउने/संकलन गर्ने कार्य निरन्तर रूपमा भइरहेको छ। उक्त Control Room को सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले यसको बारेमा थप प्रचारप्रसार आवश्यक रहेको ठहर गर्दै नेपाली नियोगहरूमार्फत समेत आवश्यक जानकारीहरू प्रवाह गरिँदै जाने व्यवस्था मिलाइएको छ। साथै, उक्त Control Room मा सहज सम्पर्कका लागि मन्त्रालयको आधिकारिक वेबसाइट https://mofa.gov.np/ को होमपेजमै लिंकहरू राखिएको छ।


६. पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ४६,१०० जना नेपाली नागरिकहरूले आफ्नो विवरण दर्ता गरिसक्नुभएको छ। दर्ता भएका ती विवरणहरू कन्सुलर सेवा विभाग तथा सम्बन्धित नेपाली नियोगहरूबाट निरन्तर अध्ययन तथा विश्लेषण भइरहेको छ र आवश्यक सहयोग तथा कारबाहीका लागि प्रक्रिया अगाडि बढाइँदैछ।


पश्चिम एशिया क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई यस विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन परराष्ट्र मन्त्रालय पुनः आग्रह गर्दछ। कुनै समस्या वा आपतकालीन अवस्था आइपरेमा Situation Room मा वा सम्बन्धित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त जानकारी गराउनुहुन समेत अनुरोध गरिएको छ।

परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ फागुन २२

Ministry of Foreign Affairs of Nepal published this content on March 06, 2026, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on March 06, 2026 at 16:07 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at [email protected]