Ministry of Foreign Affairs of Nepal

07/13/2025 | Press release | Distributed by Public on 07/12/2025 23:38

Press Release

प्रेस-विज्ञप्ति।

११ जुलाई २०२५ का दिन नेपाली राजदूतावास अबुधाबीले नेपाल र यूएईबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यकासाथ राजदूतावास परिसरमा एक अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा यूएईमा लामो समयदेखि पेशा, व्यापार, व्यवसाय, लगानी र पर्यटन प्रवर्द्धनको क्षेत्रमा कार्य गरिरहनु भएका करिब 100 जना नेपाली व्यवसायीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमलाई संबोधन गर्ने क्रममा महामहिम राजदूत श्री तेजबहादुर क्षेत्रीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै नेपाल सरकारले प्राथमिकता राखेको आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल र युएईबीच व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा प्रचुर सम्भावनाहरु रहेकाले युएईका बिभिन्न क्षेत्रमा क्रियाशील रहनुभएका पेशाकर्मी, ब्यापारी तथा व्यवशायीले पेशा, व्यवसाय गर्दा प्राप्त गरेका अनुभव, भोगेका समस्याहरू तथा सुझावहरू संकलन गरी आगामी दिनमा नेपाल तथा युएईका सरकारी तथा निजी क्षेत्रसंग बैठक, छलफल तथा अन्तरक्रिया गर्ने योजना रहेको बताउनु भयो। उहाँले युएईमा व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा क्रियाशिल नेपाली पेशाकर्मी, व्यवसायीहरुलगायत सबैले आ-आफ्नो क्षेत्रबाट नेपालको समृद्धि र विकासमा सक्दो सहयोग गर्न आव्हान गर्नुभयो । महामहिम राजदूतले मुख्य गरेर नेपालको कृषि, जलस्रोत, पूर्वाधार, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रहरूमा विकासका लागि वैदेशिक लगानी भित्र्याउन जोड दिनुपर्ने कुरा बताउनु भयो। साथै, उहाँले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई बलियो र सहज बनाउन नेपाल सरकारसमक्ष नीतिगत तथा कानूनी वातावरण सृजना गर्ने सन्दर्भमा राजदूतावासले सधै सहजीकरणको भूमिका निर्वाह गर्ने बताउनु भयो।

उक्त कार्यक्रममा राजदूतावासका काउन्सेलर तथा उपनियोग प्रमुख श्री रन्जिता दाहालले एक प्रस्तुतीकरण प्रस्तुत गर्दै नेपाल र यूएईबीचको व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका क्षेत्रको चित्रण गर्दै हालको वैदेशिक व्यापारको अवस्था, युएईबाट वैदेशिक लगानी भित्र्याउन तथा पर्यटन प्रवर्द्धन गर्न भविष्यमा गर्नुपर्ने द्विपक्षीय सम्झौता तथा कानूनी उपायहरु, युएईमा रहेका नेपाली समुदायको भूमिका र चाल्नु पर्ने कदमहरु, नेपाल सन् 2026 मा LDC बाट Graduate हुने क्रममा रहेको हुँदा नेपालमा FDI मार्फत ठूलो पूँजी भित्र्याउन गरिनुपर्ने पहल तथा तयारी, विद्यमान उपलब्धि, समस्या र समाधानका उपायहरु र नेपाल सरकार तथा राजदूतावासले संचालन गरेका विभिन्न आर्थिक कूटनीतिसँग सम्बन्धित गतिविधिहरुकाबारेमा प्रस्तुति दिनुभएको थियो।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ, युएई तथा उपस्थित पेशाकर्मी, ब्यापारी, व्यवसायीहरुले नेपालको व्यापार, लगानी र पर्यटनको क्षेत्रमा रहेका विविध चुनौति र समाधानका उपायहरुवारे आ-आफ्ना विचार तथा गहकिला सुझावहरु राख्नु भएको थियो । उहाँहरुले नेपालीको बढ्दो संख्या र यूएईको बजार मागको आधारमा अगाडि बढ्न आगामी दिनहरुमा एकद्वार प्रणालीमा सुधार, प्रशासनिक प्रकृयामा छिटोछरितोपन, भन्सार प्रकियामा सरलिकृत, तथा सहुलियत, हस्तकला तथा कृषिजन्य उत्पादन निकासी गर्दा हवाई कार्गो ढुवानीमा सहुलियत, नेपाल भ्रमण गर्न आकर्षक प्याकेज, FAM Trip, ट्राभल एजेन्सी सँग अन्तरक्रिया, स्थानिय पत्रपत्रिका तथा प्रशिद्ध ब्लगरलगायत अन्य माध्यमबाट प्रचार प्रसार, रोड-सो र अरेवियन ट्राभलमार्टमा उपयुक्त ठाउँमा नेपालको सुन्दर Pavilionलगायत लगानीमैत्री वातावरणका निम्ति नीतिगत सुधारका गर्न नेपाल सरकार र राजदूतावासले के कस्तो सहजीकरण गर्न आवश्यक छ र नेपाली उत्पादनलाई युएईको बजारमा कसरी स्थापित गराउन सकिन्छ भन्ने विषयमा महत्वपूर्ण धारणा तथा सुझावहरु व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन राजदूतावासका प्रथम सचिव श्री तिलबहादुर सुनारले गर्नुभएको थियो ।

नेपाली राजदूतावास, अबुधाबी

१२ जुलाई २०२५

Ministry of Foreign Affairs of Nepal published this content on July 13, 2025, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on July 13, 2025 at 05:38 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at support@pubt.io